काठमाडौं । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा आगामी असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक विभागले ट्र्याक खोल्ने कामको परीक्षण सफल भएपछि बाँकी प्राविधिक कामलाई तीव्रता दिएको हो ।
सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भएको छ । आइतबार उपलब्ध ग्यास बुलेटलाई नयाँ खोलिएको ट्र्याकबाट पार गराएर सडकको परीक्षण गरिएको थियो । तर, ग्राभेल बिछ्याउने र पानी निकासको काम बाँकी रहेकाले तत्काल यातायात सञ्चालन नगरिएको उहाँले बताउनुभयो ।
भोटेकोशीमा भदौ १० गते आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको बाढीले नदी कटान थप बढाउँदा परेवाभीर, कृष्णभीरलगायत स्थानमा सडकको तल्लो भाग नै बगाएको थियो । बाढीका कारण नदीको सतह बढ्नुका साथै राजमार्गका विभिन्न स्थानमा पहिरो र कटानको जोखिमसमेत बढेको विभागले जनाएको छ ।
कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक खोल्नुअघि सडक विभागले विज्ञ तथा नेपाल जिओटेक्निकल सोसाइटीसँग परामर्श गरेको थियो । पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्काल यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णयअनुसार ट्र्याक निर्माण गरिएको न्यौपानेले जानकारी दिनुभयो ।
सडक सञ्चालनका लागि अझै ग्राभेल बिछ्याउने, सतहगत निकास (सब-सर्फेस ड्रेनेज) निर्माण गर्ने तथा सक्रिय पहिरो क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङ गर्ने काम बाँकी छ । यी काम पूरा गरेर असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने विभागको तयारी छ ।
यद्यपि, माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या देखिएमा अवस्था हेरेर यातायात सञ्चालनसम्बन्धी निर्णय लिनुपर्ने हुनसक्ने विभागले जनाएको छ । बाढी तथा पहिरोको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
न्यौपानेले विपत्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । बाढी तथा वर्षाको अवस्था सामान्य भएपछि पृथ्वी राजमार्गको विस्तृत प्राविधिक मूल्यांकन गरी आवश्यक मर्मत, सुधार तथा पुनर्निर्माणका काम अघि बढाइने विभागले जनाएको छ ।






