काठमाडौं – एमालेभित्र नेतृत्व परिवर्तनको दबाब बढेपछि संकटमोचनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको शरणमा पुग्नुभएका अध्यक्ष केपी शर्मा ओलीले सोचेजस्तो साथ पाउनुभएको छैन। बालुवाटारस्थित छोरीको घरमा भएको साढे दुई घण्टा लामो भेटमा ओलीले पार्टीभित्रको संकट टार्न र राजनीतिक हिसाब मिलाउन सहयोगको अपेक्षा राख्नुभएको थियो।
देशभरबाट नेतृत्व छोड्न दबाब बढेपछि र ११औँ महाधिवेशनमा भण्डारीको पक्षबाट सहयोग गरेका नेताहरूलाई जोड्ने उद्देश्यले ओली उहाँकहाँ पुग्नुभएको थियो। तर, भेटमा भण्डारीले ओलीलाई उल्टै असन्तुष्ट नेताहरूलाई समेटेर अघि बढ्न कडा सुझाव दिनुभयो।
‘म पार्टीको के हुँ र तपाईंलाई सघाउनुपर्यो?’ भण्डारीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यहाँ भएका साथीहरूलाई समेटेर लैजानुस् न। सबैलाई तपाईं वैरी देख्नुहुन्छ, अनि कसरी चल्छ त पार्टी!’ आफ्नो मात्र कुरा लाद्ने प्रवृत्तिले समस्या ल्याएको भन्दै उहाँले पछाडि फर्केर समीक्षा गर्नसमेत आग्रह गर्नुभयो।
भेटमा ओलीले नेतृत्व परिवर्तनको मागले मात्र समस्या समाधान नहुने तर्क राखे पनि भण्डारीबाट आफूले खोजेको राजनीतिक सहमतिको संकेत पाउनुभएन। त्यसपछि गुण्डु फर्किएका ओलीले आफूनिकट नेताहरूसँग परामर्श गर्दै कार्यदलको प्रतिवेदन आफू अनुकूल ल्याउन निर्देशन दिनुभएको छ।
यसैबीच, भण्डारीसँग पछिल्लो समय एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष गोकर्ण विष्ट लगायतका नेताहरूको भेटघाट र संवाद बाक्लिएको छ। महासचिव पोखरेलले केन्द्रदेखि सबै कमिटी पुनर्गठन गर्नुपर्ने पक्षमा दृढता व्यक्त गर्दै आउनुभएको छ भने भण्डारीको निलम्बित जस्तै रहेको पार्टी सदस्यता हालै खुलाइएपछि एमालेको आन्तरिक राजनीति थप सरगर्मी बनेको छ।






