काठमाडौं,१४ मंसिर २०८१ । पढाईलाई भन्दा मोवाईल प्रयोगमा बिद्यार्थीको ध्यान बढि जान थालेपछि जुम्लाको एक बिद्यालयले मोवाईल बोकेर आउने बिद्यार्थीलाई जरिवाना गराउनुका साथै मोवाईल जफत गर्ने कठोर निर्णय लागू गरेको छ ।
जुम्लाको पातारासी गाउँपालिकास्थित क्रणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरले विद्यालयमा मोबाइल लैजाने विद्यार्थीलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने भएको छ । विद्यालयमा मोबाइल लैजाँदा विद्यार्थीहरूले ध्यानपूर्वक नपढ्ने र मोबाइलमै रुमल्लिने भएकोले मोबाइल प्रतिबन्ध गरेको हो ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय शिक्षक, अभिभावक र विद्यार्थीसँग छलफल गराएर अनुमोदन गरेपछि कार्यान्वयनमा आएको हो ।
अब विद्यालयमा विद्यार्थीहरूले मोबाइल लैजान पाउने छैनन्, ‘प्रधानाध्यापक कृष्ण बुढाले भने, ‘मोबाइल भेटिएमा तीन हजार रुपैयाँ जरिवाना हुनेछ । जरिवाना स्वरूपको रकम एक साताभित्र सम्बन्धित विद्यार्थीको अभिभावक आएर विद्यालयमा जम्मा गर्नुपर्नेछ । यदि अभिभावक नै नआएको बखत सो मोबाइल लिलाममा विद्यालयले नै बेच्नेछ ।’
मोबाइल बेचेर आएको रकमले मोबाइल ल्याउने विद्यार्थीको शैक्षिक सुधारमा लगाइने प्रधानाध्यापक बुढाले बताए । क्रृणमोक्ष माध्यमिक विद्यालयमा गतसाता देखि यो निर्णय कार्यान्वयनमा आएको हो । विद्यालयमा मोबाइल प्रतिबन्ध गराउने निर्णयले अभिभावक खुसी छन् । अहिले विद्यालयमा लाइनदेखि कक्षाकोठा प्रवेश गर्दा मोबाइल ल्याएको छ या छैनन् विषयमा सर्च नै हुने गरेको छ ।
विद्यालयमा पहिले एक सयभन्दा बढी विद्यार्थीहरू मोबाइल बोकेर आइरहेका हुन्थे । विद्यालयको वाइफाइको पासवर्ड लिएर गेम खेल्ने, कक्षामा पढाइ छाडेर खेलमैदानमा आएर मोबाइलमा झुम्मिने गर्दा पठनपाठन प्रभावित हुने गरेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।