काठमाडौं । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताउनुभएकोछ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले १० वर्षको अभ्यासका क्रममा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधान संशोधन गर्ने जानकारी दिनुभयो।
‘हामी तत्कालै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको एउटा संयुक्त कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौं,’ उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताउनुभयो। ‘संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौं,’ ‘संविधानमा समासामयिक रूपले परिमार्जन गर्नेछौं।’
कांग्रेस नेता समेत रहेका लेखकले संविधानको संशोधन केही पार्टीको निर्णयले मात्रै नहुने बताउनुभयो। ‘दुई वटै पार्टी मिलेर गरे पनि हुँदैन, हामी छलफल प्रारम्भ गर्दछौं, संविधानको समीक्षा र विषयवस्तुहरूको पहिचान गर्दछौं,’ उनले भने, ‘हामी चरणबद्ध रूपमा यसलाई अघि बढाउँछौँ ।’
संविधान संशोधनको क्रममा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्ने र पहिचान गरिएका विषयहरूमा सहमति गरेर मात्रै संविधान संशोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।