काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका हुन् । अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राख्ने तयारी छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ । उक्त मुद्दाको प्रतिवाद गर्न उनी बिहान आफै अदालतमा उपस्थित भएका थिए । उनी उपस्थित भएपछि न्यायाधीश अधिकारीको इजलासमा उनको बयान भएको थियो ।
उनका कानुन व्यवसायीहरूले हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा छाड्न माग गरेका थिए । रविले पनि आजै बहस सकिदिन वा परिवारको जिम्मा लगाउन माग गरेका थिए । तर, सरकारी वकिलले उनको बयान पढ्न समय माग गरेका थिए । तर न्यायाधीश अधिकारीले इजलासबाट समान व्यवहार गर्नुपर्ने भएकाले कसैलाई थुन्ने र कसैलाई छाड्ने आदेश गर्न नमिल्ने बताएका थिए ।
रविविरुद्ध बहस गर्न काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए । यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् । मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन् ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आज काठमाडौं अदालतमा आफै उपस्थित हुन पुगेका हुन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
