काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको बताउनुभएको छ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुटो भ्रम फैलाइएको बताउनुभयो। कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको उहाँको भनाइ छ।
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको बताउनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवाबाट अध्यादेशको विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्ने उहाँले बताउनुभयो ।
‘यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासंघले पनि भूमिका निर्वाह गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उहाँले देश र जनताका पक्षमा आफूहरूले दिन–रात नभनी काम गरेको बताउनुभयो। सञ्चार क्रियाकलापका नाममा किर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलाउनुभयो।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
