काठमाडौं । साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध चितवन जिल्ला सरकारी वकील कार्यालयले आज मुद्दा दायर गर्ने भएको छ ।
प्रहरीले मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार नै जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।
सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुन्धान गर्न निर्देशन दिएबमोजिम प्रहरीले पूरक अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो । पूरक प्रतिवेदनमा रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला र शिवबहादुर गुरुङलाई प्रतिवादी बनाउनुपर्ने राय छ । रकम लेनदेन देखिएका ७ वटा कम्पनीलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।
करिब एक वर्ष लगाएर प्रहरीले गरेको अनुसन्धानका आधारमा गत असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । मुद्दा दायर हुँदा नै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको थियो । सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुसन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो ।
मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए । लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनी/सञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन् ।
त्यसैगरी छविलाल जोशी तत्कालीन सेयरधनी तथा सञ्चालक रहेको जाहेरीमा उल्लेख छ । उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।