काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभा)को बैठक बस्दैछ ।
जसअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
त्यस्तै सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्नुहुनेछ ।
त्यसैगरि कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्नुहुनेछ ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो सवा २ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ ।





