काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले जनताका छोराछोरीले ज्यानको बाजी लगाएर लडेको युद्धलाई हिंसा भनेर अपमान गर्ने छुट कसैलाई नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको विशेष समयमा सांसद पौडेलले सहमति गरेको पानामा मसी नसुक्दै फेरि यस्ता शब्द बोल्नु जनयुद्धमाथिकै अपमान भएको बताए।
न्यायका निम्ति विभिन्न समय लडिएका आन्दोलनको सम्मान आफूहरूले गरेको उनले बताए। २००७ सालको आन्दोलनमा लखन थापा‚ पन्चायतविरूद्धको आन्दोलनमा विरेन राजवंशी कृष्ण कुइँकेल लगायत सहिदको सम्मान गरिएको पनि उनले बताए। जनताको छोराछोरीले लडेको युद्ध ‘जनयुद्ध’ भएकोले त्यसबारे अन्टसन्ट शब्द नबोल्न चेतावनी दिँदै उनले प्रश्न गरे‚‘ऐतिहासिक जनयुद्धमा दिलबहादुर रम्तेलले स्कुलको आगमनमा रगत बगाए। कसका छोराछोरी थिए ? कृष्णसेन इच्छुक को हुनुहुन्थ्यो ?’
सांसद पौडेलले ‘माओवादी जनयुद्ध’को विषयमा प्रयोग गर्ने शब्दमा ख्याल गर्न आग्रह गरे। उनले विगतका आला घाउ नकोट्याउन र उत्तेजित नपार्न पनि आग्रह गरे। उनले माओवादी जनयुद्धप्रति छाती फराकिलो बनाउन एमालेलाई आग्रह समेत गरे। ‘हजार वर्षसम्म पनि नेपालमा र संसारभर विज्ञले इतिहास लेख्यो भने जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर लेख्ने छ‚’ सांसद पौडेलले भने‚‘यहाँहरूले यो शब्द किन कन्जुसाइ गरेको ? इतिहास त हामीलाई पनि जानकारी छ।’
एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेपछि माओवादी केन्द्रका नेताहरूले आक्रोश व्यक्त गरेका छन्। त्यस्तै सांसद पौडेलले फरक प्रसंगमा हरेक दिन एकै विषयमा कति टोकेको भन्दै प्रश्न गरे। उनले ६१ उद्योगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् उपयोग गरे बापतको पैसा तिराउनुपर्नेमा जोड दिए।
‘पूर्व प्रमले नतिर भनेको भए छाती खोलेर बहस गर्न तयार छौं। आजभन्दा ८ वर्ष पहिले हिउँदमा १८ घण्टा बर्खा ९ घण्टा लोडसेडिङ थियो। आजको दिनमा १३ करोड ११ लाखको विद्युत् निर्यात हुन्छ। अनि माओवादीलाई आज पनि टोकेको छ, भोलि पनि पर्सी पनि टोकेको छ, के गर्न खोजेको हो‚’ उनले भने।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।