काठमाडौं । धादिङ र काठमाण्डौं जिल्लाको सिमानामा पर्ने त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।
अविरल बर्षाको कारण शनिबार बिहान पहिरो जाँदा संघीय राजधानी प्रवेश गर्ने मुख्य सडक नाका नागढुंगा नजिकै माइक्रोबसहरु केही सवारी साधन पुरिएको थियो । सो ठाउँमा खोजतलास गर्दा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।पुरिएको सवारी साधनबाट निकालिएका शव मध्ये ८ जना पुरुष, ५ जना महिला र १ जना बालक रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।पहिरोका कारण सडक अबरुद्ध भएपछि राती देखि त्यस क्षेत्रमा रोकिएका यात्रुलाइ सुरुङमार्ग बाट काठमाण्डौं लगिएको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।