काठमाडौँ। मेटाले आफ्नो म्यासेजिङ प्लेटफर्म व्हाट्सएपमा प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न फोन नम्बर बिना नै कुराकानी गर्न सकिने नयाँ ‘युजरनेम’ फिचर ल्याउने भएको छ। यससँगै कम्पनीले प्रयोगकर्ताहरूलाई आफ्नै रोजाइको युजरनेम पहिले नै सुरक्षित (रिजर्भ) गर्न सक्ने सुविधा समेत खुला गरेको छ, जुन फिचर पूर्ण रूपमा लागू भएपछि स्वतः सक्रिय हुनेछ।
यो सुविधा आगामी केही महिनाभित्र चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तामाझ पुर्याइनेछ। नयाँ प्रणाली लागू भएपछि अपरिचित व्यक्ति, ठूला ग्रुप च्याट वा व्यापारिक संवादका क्रममा व्यक्तिगत फोन नम्बर गोप्य रहनेछ। सुरक्षालाई थप चुस्त बनाउन व्हाट्सएपले युजरनेमका साथमा ‘युजरनेम की’ नामक अतिरिक्त सुरक्षा कोड पनि अनिवार्य गर्ने भएको छ, जसले गर्दा अनावश्यक व्यक्तिहरूले सजिलै म्यासेज पठाउन पाउने छैनन्।
प्रयोगकर्ताले अक्षर, अंक, डट र अन्डरस्कोर प्रयोग गरी अधिकतम ३५ अक्षरसम्मको युजरनेम बनाउन सक्नेछन्। साथै, यसलाई जुनसुकै बेला फेर्न वा हटाउन सकिनेछ भने व्यवसाय र कन्टेन्ट क्रिएटरहरूले फेसबुक र इन्स्टाग्रामकै युजरनेम व्हाट्सएपमा पनि राख्न पाउनेछन्। यो फिचर आफ्नो एकाउन्टमा उपलब्ध हुनासाथ प्रयोगकर्तालाई इन-एप सूचनामार्फत जानकारी दिइनेछ।






