काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताउनुभएको छ ।
बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणपूर्व नै कुनैपनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पार्नुभयो । उहाँले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताउनुभयो । उहाँले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताउनुभयो । उहाँले बहुमत नआएको खण्डमा गठबन्धनबाट नयाँ सरकार बन्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नउठेको पनि बताउनुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।