काठमाडौं। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ।
कास्कीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभएको हो ।
मन्त्री गुरुङले भन्नुभयो, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरु शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुङ्गो लगाउने सरकारको योजना छ ।”
उहाँले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन चाँडै निर्माण गर्न प्रक्रियागत काम सरकारले अघि बढाएको जानकारी दिनुभयो।





