निर्वाचनको सङ्घारमा छ हाम्रो देश । छिमेकी मुलुक बङ्गलादेशको निर्वाचन परिणामलाई लिएर नेपालमा पनि टिका टिप्पणी हुन थालेको छ । विशेष गरी फेसबुकमा साढे सात मिलियन फलोअर्स भएकी युवा नेतृ तस्निम जारा पराजित भएको विषय उद्धृत गर्दै नेपालका जेन्जीहरुको पनि हालत यस्तै हुने दाबी पूर्व प्रधानमन्त्री लगायत केही मानिसहरू गरिरहेका छन् । उनीहरू बङ्गलादेशको निर्वाचन परिणामलाई जेन्जी युवाहरूको हारको रूपमा अर्थाइरहेका छन् । किनकि ‘जेन-जी’ (Gen Z) को प्रतिनिधित्व गर्ने भनिएको नेसनल सिटिजन्स पार्टी (NCP) ले सो निर्वाचनमा जम्मा ६ सिटमा चित्त बुझाउनु परेको छ ।
जहाँका सडकहरूले भर्खरै रगतको गन्ध र क्रान्तिको गर्जन बिर्सिएका छैनन् । जहाँका युवाहरूले ‘नयाँ बङ्गलादेश’को सपना देख्दै एउटा अधिनायकवादी शेख हसिनाको सत्तालाई बालुवाको घरजस्तै भत्काइदिए । जसले सन् २०२४ को विद्यार्थी विद्रोहबाट सुरु भएको आफ्नो ‘दोस्रो स्वतन्त्रता’ को यात्रालाई फेब्रुअरी २०२६ को आम निर्वाचनसम्म ल्याइपुर्याए ।
क्रान्तिको राप र अन्तरिम शासनको जग
कथा सुरु हुन्छ, अगस्ट २०२४ बाट । १५ वर्षसम्म फलामे मुठ्ठीले शासन गरेकी शेख हसिना, विद्यार्थीहरूको अभूतपूर्व विद्रोहका अगाडि टिक्न सकिनन् र भारत पलायन भइन् । त्यसपछि जन्मियो, नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा एउटा ‘अन्तरिम सरकार’ । यो सरकार कुनै सामान्य सरकार थिएन, यो क्रान्तिको रापबाट जन्मिएको एउटा आशाको त्यान्द्रो थियो, जसले बङ्गलादेशको राजनीतिक र संवैधानिक मेरुदण्डलाई नै पुनः निर्माण गर्ने जिम्मेवारी बोकेको थियो ।
यही पृष्ठभूमिमा, गत हप्ता बङ्गलादेशले एउटा ऐतिहासिक निर्वाचन र जनमत सङ्ग्रह सम्पन्न गर्यो । यो निर्वाचन केवल सत्ता हस्तान्तरण मात्र थिएन, यो त बङ्गलादेश अब कुन विचारधारामा हिँड्ने भन्ने एउटा ठुलो ‘डिटोर’ (मोड) पनि थियो ।
निर्वाचनको परिणाम: पुराना खेलाडीको पुनरागमन
जब निर्वाचनको नतिजा आयो, धेरैका आँखाहरू अचम्मले चम्किए । झन्डै १७ वर्षको निर्वासन र राजनीतिक वनवासपछि तारिक रहमानको नेतृत्वमा रहेको बङ्गलादेश नेसनल पार्टी (BNP) ले संसद्मा झन्डै दुई-तिहाइ बहुमत (२१२ सिट) हासिल गर्यो । तारिक रहमान, जो पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन्, उनी अब बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित छ ।
यस निर्वाचनको अर्को रोचक पक्ष भनेको ‘जमात-ए-इस्लामी’ को उदय पनि हो । कुनै समय प्रतिबन्धित रहेको यो कट्टरपन्थी धार्मिक पार्टी ६८ भन्दा बढी सिट जितेर देशको मुख्य विपक्षी दल बन्न पुगेको छ । तर फेरी प्रश्न त्यही नै उठ्छ, ती जेन्जी युवाहरू कता हराए जसले सडकमा रगत बगाएर यो परिवर्तन ल्याएका थिए ?
के साँच्चै यो जेन्जी आन्दोलन र युवाहरूको हार नै हो त ?
यहाँनेर एउटा गम्भीर प्रश्न उठ्छ: के बङ्गलादेशका युवाहरूले क्रान्ति त गरे तर के उनीहरू राजनीतिमा भने पराजित भएका हुन् ? विश्लेषकहरू भन्छन्, यो पूर्ण सत्य होइन । युवाहरूको नेसनल सिटिजन्स पार्टी (NCP) भर्खरै जन्मिएको पार्टी थियो, जसले जम्मा ३० वटा क्षेत्रमा मात्रै उम्मेदवारी दिएको थियो । यसको अर्थ, ३० मध्ये ६ सिट जित्नु भनेको करिब २० प्रतिशतको सफलता हो, जुन एउटा शिशु पार्टीका लागि नराम्रो होइन ।
यसको चुरो खोतल्न हामीले यो निर्वाचनमा कसको विजय भयो भनेर हेर्नु पर्ने हुन्छ । झन्डै दुई-तिहाइ बहुमतले जित्ने पार्टी पुरानो भए पनि बङ्गलादेशमा एक महिना ४ दिन चर्किएको जेन्जी आन्दोलनलाई भित्र र बाहिर दुवै रूपमा शक्ति र समर्थन गर्ने पार्टी हो । यस कारण उसको जीतले जेनजी जनआन्दोलनकै मर्म र भावनाको प्रतिनिधित्व गरेको छ । यस निर्वाचनको सबैभन्दा ठुलो जित भनेकै ‘जुलाई चार्टर’ (July Charter) नामक जनमतको अनुमोदन हो । ६० प्रतिशतभन्दा बढी जनताले यो चार्टरको पक्षमा मतदान गरे, जसले बङ्गलादेशमा अब दुई सदनात्मक व्यवस्था, प्रधानमन्त्रीको कार्यकालको सीमा (दुई कार्यकाल मात्र), र न्यायपालिकाको स्वतन्त्रता जस्ता ऐतिहासिक सुधारहरू सुनिश्चित गर्नेछ ।
एक अधिनायकवादको अन्त्य तर अर्को संशयको उदय
बङ्गलादेशको यो यात्रा जति रोचक छ, त्यति नै चुनौतीपूर्ण पनि छ । शेख हसिनाको अवामी लिग (AL) लाई यस निर्वाचनमा भाग लिनै दिइएको थिएन । धेरैले यसलाई ‘न्याय’ भनेका छन् भने कतिपयले यसलाई ‘प्रतिशोधको राजनीति’ को निरन्तरता मानेका छन् । समाचारहरूका अनुसार सुरक्षा निकायहरूले अहिले पनि अवामी लिगका समर्थकहरूलाई निशाना बनाइरहेका छन्, जसले बङ्गलादेशमा फेरि अर्को चक्रको हिंसा र राजनीतिक अस्थिरता निम्त्याउन पनि सक्छन् ।
अझ डरलाग्दो कुरा त के छ भने, देशमा धार्मिक कट्टर पन्थ बढ्दै गएको छ । निर्वाचनपछि महिलाहरूमाथि हुने हिंसा र सार्वजनिक जीवनमा उनीहरूको सहभागितामा अङ्कुश लगाउने प्रयासहरू भइरहेका रिपोर्टहरू आएका छन् । के बङ्गलादेश एउटा लोकतान्त्रिक देशबाट कट्टरपन्थी धार्मिक राष्ट्रतर्फ धकेलिँदै छ ? यो प्रश्नले आज बङ्गलादेशका सचेत नागरिकहरूलाई पिरोलिरहेको छ ।
बङ्गलादेशको सन्दर्भमा नेपालको निर्वाचन
अब केही कुरा हाम्रै देश नेपालको पनि गरौँ । बङ्गलादेशको चुनावी नतिजालाई लिएर नेपालमा एउटा ‘न्यारेटिभ वार’ (कथाको युद्ध) सुरु भएको छ । केहीले भनिरहेका छन्—”हेर्नुस्, बङ्गलादेशमा जस्तै नेपालका नयाँ पार्टीहरू पनि अब बढारिनेछन्” । तर, यो तुलना कति जायज छ त ? माथिकै तथ्यहरू केलाउँदा प्रस्ट भइहाल्छ ।
बङ्गलादेशमा बिएनपी (BNP) पुरानो पार्टी भए पनि उसले नै आन्दोलनलाई प्रत्यक्ष समर्थन गरेको र मूर्त रूप दिएको थियो । नेपालमा भने अहिलेका ठुला पार्टीहरू (काँग्रेस र एमाले) जेन्जी आन्दोलनको समयमा सत्तामै थिए । बङ्गलादेशमा अवामी लिगलाई प्रतिबन्ध लगाइयो, तर नेपालमा कुनै पनि ठुला दल प्रतिबन्धित छैनन् । त्यसैले, बङ्गलादेशको राजनीति र नेपालको परिस्थितिलाई एउटै चस्माबाट हेर्नु गलत हुनेछ ।
बङ्गलादेश आज एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँबाट एउटा बाटोले वास्तविक लोकतन्त्र र विधिको शासनतर्फ लैजान्छ भने अर्को बाटोले फेरि त्यही पुरानो प्रतिशोध र कट्टर पन्थको अँध्यारो खाडलतर्फ । अबको बङ्गलादेशको भविष्य त्यहाँको सरकारले ‘जुलाई चार्टर’ लाई कसरी कार्यान्वयन गर्छ र आर्थिक सङ्कटबाट कसरी बाहिर निस्कन्छ भन्ने कुरामा निर्भर रहनेछ । लाखौँ मानिस गरिबीको रेखातिर धकेलिँदै गरेको अवस्थामा, केवल चुनावी जितले मात्र जनताको विकासको आकाङ्क्षाको सम्बोधन हुने छैन ।
बङ्गलादेशको यो घटना हाम्रो लागि पनि एउटा पाठ हो—कि क्रान्ति गर्न सजिलो छ, तर प्राप्त उपलब्धिको रक्षा गर्दै संस्थागत सुधार गर्नु निकै कठिन यात्रा हो । बङ्गलादेशले आफ्नो यो ‘दोस्रो स्वतन्त्रता‘ लाई कसरी जोगाउँछ, त्यो हेर्न बाँकी नै छ । राजनैतिक परिवर्तनको मुख्य उद्देश्य विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ शक्ति र प्रतिशोध होइन ।
मूलतः आख्यानमा कलम चलाउने कृष्णपक्ष थापा कला र साहित्यमा रुचि राख्छन् । यस अनलाइनमा प्रकाशित गैर आख्यान तथा समसामयिक लेखहरुमा अभिव्यक्त विचार उनका निजी हुन ।






