काठमाडौँ । ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । २०२२ को चुनाव हारेपछि बोल्सोनारोमाथि कथित रूपमा विद्रोहको प्रयासको नेतृत्व गरेको आरोप छ ।
आदेश जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले आफ्नो छोराको सामाजिक सञ्जाल च्यानलहरूमा सामग्री पोस्ट गरेर आफूमाथि लगाइएको सावधानी उपायहरू उल्लङ्घन गरेका आरोप लगाएका छन् ।
अभियोजकहरूले पूर्व राष्ट्रपति बोल्सोनारोले एक आपराधिक संगठनको नेतृत्व गरेको आरोप लगाएका छन् । साथै उनलाई राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसको हत्या गर्ने योजना सहित चुनाव उल्टाउने षड्यन्त्र गरेको समेत आरोप छ ।
पूर्व राष्ट्रपति बोल्सोनारो र उनका ३३ सहयोगीहरूलाई विद्रोहको षड्यन्त्र रच्ने, हिंसात्मक अपराध संगठनमा सामेल हुने, लोकतन्त्रलाई ध्वस्त पार्ने प्रयास गर्ने र सरकारी सम्पत्तिलाई क्षति पुर्याउने जस्ता गम्भीर आरोप लगाइएको छ। साथै बोल्सोनारोका पूर्व उपराष्ट्रपति जनरल ब्रागा नेटो पनि यस षड्यन्त्रमा संलग्न रहेको अभियोजकले उल्लेख गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पछिल्लो आदेश गत महिना सर्वोच्च अदालतले दिएको आदेशपछि आएको हो, जसमा पूर्व राष्ट्रपति बोल्सोनारोलाई इलेक्ट्रोनिक एंकल मनिटर लगाउन आदेश दिइएको थियो । यसका साथै, कारबाहीको क्रममा उनको गतिविधिमा निगरानी राख्न केही प्रतिबन्धहरू लगाइएको थियो ।
अब यो नयाँ आदेश पछि, अति दक्षिणपन्थी नेता बोल्सोनारोलाई कडा निगरानीमा राखिनेछ, परिवारका सदस्यहरू र वकिलहरूलाई मात्र उनलाई भेट्न अनुमति दिइनेछ । यस बाहेक, आदेश अन्तर्गत, रियो दि जेनेरियोमा रहेको उनको घरबाट सबै मोबाइल फोनहरू जफत गरिने बताइएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
