काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले शनिबार बिहान उनीहरूलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो। ओलीलाई भक्तपुरको गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ, भद्रकालीमा राखिएको छ।
यो पक्राउ गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिसँग सम्बन्धित रहेको छ। उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, लेखक तथा तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूलाई फौजदारी मुद्दाअन्तर्गत अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिस कार्यान्वयन गर्ने निर्णय नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शुक्रबार गरेको थियो।
मन्त्रिपरिषद्को निर्णयलगत्तै गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग रातभर छलफल गरी पक्राउको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। प्रहरीले दुवै नेतालाई “अत्यन्त जरुरी पुर्जी” थमाउँदै ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्ने समयमा एमाले अध्यक्ष ओली आफ्ना पिताको बरखीमा रहेका कारण सेतो वस्त्रमा थिए।
पक्राउ परेपछि गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही नभएको र यो कुनै प्रतिशोध नभई न्यायको सुरुवात भएको टिप्पणी गरेका छन्। उनले यस कदमले देशलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरेका छन्। हाल काठमाडौँ र भक्तपुर क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने राजनीतिक वृत्तमा यस घटनाले ठूलो हलचल पैदा गरेको छ।





