काठमाण्डौ, ९ जेठ । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत आफ्नो नामको अगाडि ‘डाक्टर’ (डा) शब्द प्रयोग नगर्न सम्बन्धित सबैलाई कडा निर्देशन दिएको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले एक सूचना जारी गर्दै विभिन्न विधाका स्वास्थ्यकर्मी तथा व्यक्तिहरूले नियमविपरीत रूपमा आफ्नो नामअघि ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले त्यस्तो कार्य तत्काल रोक्न आग्रह गर्नुभएको हो।
काउन्सिलले जारी गरेको सार्वजनिक सूचनामा चिकित्सकको रूपमा कानुनी मान्यता प्राप्त नगरेका व्यक्तिले ‘डाक्टर’ उपाधि प्रयोग गर्नु गैरकानुनी र दण्डनीय हुने उल्लेख गरिएको छ। चिकित्सा क्षेत्रको संवेदनशीलता र सर्वसाधारणमा पर्न सक्ने भ्रमलाई मध्यनजर गर्दै काउन्सिलले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
काउन्सिलमा विधिवत् दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद्को ऐनअनुसार चिकित्सक उपाधि प्राप्त व्यक्तिबाहेक अन्य कुनै पनि स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि ‘डा’ शब्द प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ। यो नियम उल्लंघन गरी कसैले अनधिकृत रूपमा डाक्टर शब्द प्रयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने समेत काउन्सिलले चेतावनी दिएको छ।





