धादिङ, १२ जेठ । सरकारले सार्वजनिक गरेको आधिकारिक भाडा सूची हुँदाहुँदै पनि धादिङका विभिन्न सडक खण्डमा सञ्चालित केही यातायात व्यवसायीले यात्रुसँग मनलाग्दी भाडा असुल्ने गरेको गुनासो व्यापक रूपमा बढेको छ। यातायात व्यवस्था विभाग र बागमती प्रदेश सरकारले समय–समयमा इन्धनको मूल्यका आधारमा नयाँ भाडादर समायोजन गर्दै आए पनि व्यवहारमा भने सवारी चालक र सहचालकहरूले त्यसलाई पूर्ण रूपमा उल्लंघन गर्ने गरेका छन्। धादिङबेँसी–काठमाडौँ लगायत ग्रामीण रुटहरूमा चल्ने सार्वजनिक यातायातमा “बसैपिच्छे फरक भाडा” लिने गरिएको र सोध्दा यात्रुमाथि नै दुर्व्यवहार हुने गरेको पाइएको छ।
यात्रुहरूका अनुसार एउटै रुटमा फरक–फरक गाडीले मनपरी ढङ्गले भाडा असुल्ने गरेका छन्। लामो समयदेखि नियमनकारी निकाय मौन बस्दा व्यवसायीहरूको मनोबल बढेको र यात्रुहरूले टिकट समेत नपाई यात्रा गर्न बाध्य भएको गुनासो स्थानीयको छ। तोकिएको भाडादर माग्दा वा प्रश्न गर्दा सहचालकहरूले ओराल्ने धम्की दिने तथा अपशब्द प्रयोग गर्ने गरेको यात्रुहरूले बताएका छन्। यसरी सरकारी नियमको धज्जी उडाउँदै सर्वसाधारणलाई प्रत्यक्ष मारमा पार्ने काम भइरहँदा पनि स्थानीय प्रशासन र ट्राफिक प्रहरीले ठोस कदम चाल्न नसकेको आरोप लाग्न थालेको छ।
पछिल्लो समय यातायात व्यवस्था विभागले भाडा वृद्धि वा समायोजन भएपछि अनिवार्य रूपमा सरकारी सूची अनुसार मात्रै रकम लिनुपर्ने नियम बनाएको छ। तर, ग्रामीण क्षेत्रका रुटहरू र मुख्य राजमार्गमै गुड्ने सवारी साधनले समेत उक्त नियमलाई लत्त्याएका छन्। गाडीभित्र अनिवार्य रूपमा भाडा सूची टाँस्नुपर्ने कानुनी व्यवस्था भए पनि धादिङ चल्ने अधिकांश बस र माइक्रोबसमा भाडा सूची भेटिँदैन। जसका कारण सहचालकले जति माग्यो, त्यति नै रकम तिर्न यात्रुहरू विवश छन्।
यसैबीच, सरकारी भाडादर भन्दा बढी रकम असुल्ने सार्वजनिक यातायातमाथि अब कडा निगरानी गरिने सम्बन्धित निकायले जनाएका छन्। यात्रुसँग मनलाग्दी भाडा लिने, टिकट नदिने तथा तोकिएको भाडा सूची लागू नगर्ने सवारी साधनलाई ट्राफिक प्रहरी र यातायात कार्यालयको समन्वयमा कडा कारबाही गरिने दाबी गरिएको छ। यातायात सम्बद्ध अधिकारीहरूले बढी भाडा असुल्नु कानुन विपरीत कार्य भएको भन्दै यात्रुको अधिकार सुनिश्चित गर्न सडकमा अनुगमन थप कडा बनाइने बताएका छन्।
सम्बन्धित निकायले यात्रुहरूलाई समेत सचेत बन्न र सरकारी स्वीकृत भाडा अनुसार मात्रै रकम तिर्न आग्रह गरेको छ। यदि यात्राका क्रममा कसैले बढी भाडा असुलेमा, टिकट दिन अस्वीकार गरेमा वा दुर्व्यवहार गरेमा तत्काल नजिकको ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय वा हेलो सरकार जस्ता सम्बन्धित निकायमा सवारी साधनको नम्बरसहित उजुरी गर्न अनुरोध गरिएको छ।
तर, सरकारी निकायले कागजमा कारबाहीको चेतावनी दिए पनि व्यवहारमा भने धादिङ–काठमाडौँ लगायतका क्षेत्रमा यात्रु ठगिने क्रम निरन्तर जारी छ। सर्वसाधारण यात्रुहरूले अब भाषण र चेतावनी मात्र नभई सडकमा ठोस परिवर्तनको माग गरेका छन्। प्रत्येक गाडीमा भाडा सूची अनिवार्य टाँस गरिनुपर्ने, बढी भाडा लिने सवारीको अनुमति पत्र नै खारेज गर्नेसम्मको कारबाही हुनुपर्ने र यात्रुलाई ठगीबाट जोगाउन ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभाग सडकमा चौबीसै घण्टा सक्रिय बन्नुपर्ने माग चौतर्फी रूपमा उठ्न थालेको छ।





