काठमाडौँ, २८ असार – वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर उत्पन्न विवाद अन्ततः सहमतिमा टुङ्गिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको विशेष उपस्थितिमा आइतबार नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच सघन वार्तापछि ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको हो। यो सहमतिसँगै सरकारले घटनाको निष्पक्ष छानबिन गर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउने तथा सामाजिक सुरक्षासम्बन्धी विभिन्न दीर्घकालीन व्यवस्थाहरू गर्ने प्रतिबद्धता जनाएको छ।
सहमतिको मुख्य बुँदा अनुसार घटनाको सत्यतथ्य र वास्तविक कारण पत्ता लगाउन नेपाल सरकारले तत्कालै एक पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय एवं स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिलाई कार्यप्रारम्भ गरेको सात दिनभित्र आफ्नो विस्तृत प्रतिवेदन सरकारसमक्ष बुझाउने समयावधि तोकिएको छ। यसका साथै, घटनामा ज्यान गुमाएका गणेश नेपालीलाई सहिद घोषणा गर्नुपर्ने पीडित पक्षको मागका सम्बन्धमा प्रचलित कानुन, विगतका अभ्यास र छानबिन समितिले बुझाउने प्रतिवेदन तथा सिफारिसका आधारमा आवश्यक कानुनी एवं प्रशासनिक निर्णय प्रक्रिया अघि बढाउने सहमति भएको छ।
९ बुँदे सहमतिमा पीडित परिवारको आर्थिक राहत र आश्रित सदस्यहरूको जीविकोपार्जनका विषयहरूलाई पनि समेटिएको छ। जसअन्तर्गत काठमाडौँ महानगरपालिका र सरकारले पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने, बालबालिकाको निःशुल्क शिक्षाको ग्यारेन्टी गर्ने र तत्कालका लागि आर्थिक राहत उपलब्ध गराउने विषयमा गृहकार्य गर्ने आश्वासन दिइएको छ। सहमति भएसँगै विगत केही दिनदेखि जारी आन्दोलनका कार्यक्रमहरू स्थगित भएका छन् भने पीडित पक्षले वीर अस्पतालमा रहेको गणेश नेपालीको शव बुझ्न र अन्तिम संस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउन सहमति जनाएका छन्।






