धादिङबेँसी। अन्तर्राष्ट्रिय धादिङ समाज (आईडीएस) को चौथो अन्तर्राष्ट्रिय महाधिवेशन धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा शनिवार राती भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशनले बद्री खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
धादिङको गल्छी गाउँपालिका–२, बेलिनीटार स्थायी घर भई हाल अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका खतिवडा धादिङ समाज अमेरिकाका सल्लाहकार तथा संस्थाका निवर्तमान उपाध्यक्ष हुनुहुन्छ। अध्यक्ष पदका लागि अस्ट्रेलियाका विनोद उप्रेती, अमेरिकाका बद्री खतिवडा र जापानका राजेन्द्र श्रेष्ठले उम्मेदवारी दिएका भए तापनि अन्तिममा गहन छलफल र सहमतिका आधारमा खतिवडाको नेतृत्वमा सर्वसम्मत टोली चयन गरिएको हो।
विश्वका २३ देशमा छरिएर रहेका धादिङवासी प्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त महाधिवेशन समाजका निवर्तमान अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न भएको थियो। महाधिवेशनको उद्घाटन धादिङ क्षेत्र नम्बर २ का सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ र सङ्घीय सरकारका पूर्वमन्त्री रामनाथ अधिकारीले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी गर्नुभएको थियो।
नयाँ चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ तथा उपाध्यक्षहरूमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिखडा र विनोद उप्रेती निर्वाचित हुनुभएको छ। यस्तै महिला उपाध्यक्षमा रञ्जना भण्डारी चयन हुनुभएको छ। संस्थाको महासचिव पदमा कल्याण विक्रम कार्की निर्वाचित हुनुभएको छ भने सचिवहरूमा दिनेश बोहोरी, राजेन्द्र थपलिया, दिवाकर दाहाल र सोमनाथ कँडेल तथा महिला सचिवमा कविता दाहाल चयन हुनुभएको छ।
कार्यसमितिको कोषाध्यक्षमा रामकुमार थापा तथा सहकोषाध्यक्षमा दीपक चन्द्र भट्ट र छन्दप्रसाद सिलवाल निर्वाचित हुनुभएको छ। युवा संयोजकको जिम्मेवारी सुदिप सी. विष्ट र श्यामहरी तिमल्सिनाले पाउनुभएको छ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा सुमन बुद्ध परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिखडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामा तामाङ र गोविन्द राना मगर सर्वसम्मत रूपमा चयन हुनुभएको छ। महाधिवेशनले विश्वभर रहेका धादिङवासीहरूबीचको आपसी भाइचारा, सहकार्य र जन्मभूमिको सामाजिक तथा आर्थिक विकासमा समाजको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउने सङ्कल्प समेत गरेको छ।






