न्यूयोर्क, अमेरिका। अमेरिकाको न्यूयोर्कस्थित टाउन अफ ओइस्टर बेले नेपाली समुदायका समाजसेवी दिवाकर पाण्डेको सम्मानमा अक्टोबर १९ लाई ‘दिवाकर पाण्डे दिवस’ घोषणा गरेको छ। लङ आइल्यान्ड नेपाली समाजको सन् २०२६ को दशैँ उत्सवका अवसरमा उहाँले समुदाय, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगर प्रशासनले विशेष घोषणा गरेको हो।
टाउन अफ ओइस्टर बेका पर्यवेक्षक जोसेफ सलाडिनो तथा नगर परिषद्का सदस्यहरूले हस्ताक्षर गरेको सम्मानपत्रमा पाण्डेलाई नेपाली–अमेरिकी समुदायका सक्रिय अगुवा तथा समाजसेवीका रूपमा उल्लेख गरिएको छ। उहाँले समुदायको हित र जनकल्याणका लागि पुर्याउनुभएको योगदानको कदर गर्दै अक्टोबर १९, २०२६ लाई ‘दिवाकर पाण्डे दिवस’ घोषणा गरिएको सम्मानपत्रमा उल्लेख छ।
सम्मानपत्रअनुसार पाण्डे अमेरिकामा आउनुअघि नेपालमा लामो समय विद्यालय तथा कलेज तहमा अध्यापन कार्यमा संलग्न हुनुहुन्थ्यो। शिक्षा र सार्वजनिक सेवाको क्षेत्रमा योगदान पुर्याउनुभएका उहाँ हाल न्यूयोर्कको लङ आइल्यान्ड क्षेत्रमा नेपाली समुदायलाई एकताबद्ध बनाउने तथा समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्ने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।
पाण्डेले नेपाली डायस्पोरामा विभिन्न नेतृत्वदायी जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ सन् २०१८ देखि २०२० सम्म धादिङ नेपाली समाज अमेरिकाको पहिलो निर्वाचित अध्यक्ष बन्नुभएको थियो। त्यसपछि सन् २०२३ देखि २०२५ सम्म गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको सम्मानपत्रमा उल्लेख छ। उहाँ हाल पनि उक्त संस्थाको उपाध्यक्षका रूपमा कार्यरत रहेको जनाइएको छ।
सामाजिक तथा मानवीय सेवामा उहाँको योगदान सङ्कटका समयमा विशेष रूपमा देखिएको सम्मानपत्रमा उल्लेख छ। अमेरिकामा कोभिड–१९ महामारीका बेला उहाँले समुदायका सदस्यलाई खाद्यान्न, मास्क, स्यानिटाइजर, औषधि तथा आर्थिक सहयोग उपलब्ध गराउन भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँको सहयोग अमेरिकामा मात्र सीमित नरहेको सम्मानपत्रमा उल्लेख छ। नेपालमा भएका विनाशकारी भूकम्पलगायत प्राकृतिक विपद्का पीडितलाई सहयोग गर्नुका साथै पछिल्लो समय हिमताल फुटेर आएको बाढीबाट प्रभावित समुदायलाई पनि सहयोग पुर्याउनुभएको जनाइएको छ।
टाउन अफ ओइस्टर बेले पाण्डेको निःस्वार्थ सेवा, नेतृत्व क्षमता, मानवीय सहयोग र सामाजिक योगदानले समुदायको समग्र हितमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उहाँको कार्यलाई नगरकै उच्च सम्मानका लागि योग्य ठहर गरेको छ।
लङ आइल्यान्ड नेपाली समाजको दशैँ सांस्कृतिक साँझका अवसरमा प्राप्त यो सम्मान नेपाली समुदायका लागि गौरवको विषय बनेको छ। यसले अमेरिकामा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूले सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक नेतृत्वका माध्यमबाट अमेरिकी समाजमा पुर्याउँदै आएको योगदानलाई समेत उजागर गरेको छ।






