रियाद।साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको साउदी अराम्को तेल प्रशोधन केन्द्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणका क्रममा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।
साउदी रक्षा क्षेत्रले यमनका इरानसमर्थित हुथी विद्रोहीले पठाएको विस्फोटक ड्रोनलाई आकाशमै निष्प्रभावी पारी खसालेको थियो। तर, त्यस ड्रोनको जल्दो अवशेष (टुक्रा) जमिनमा खस्दा कामदार सवार एक सवारीसाधनमा आगलागी हुन पुगेको साउदी ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा नेपाली र फिलिपिन्सका नागरिक रहेका छन्। यस्तै आक्रमणको घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्, जो पाकिस्तानी र भारतीय नागरिक रहेको साउदी अधिकारीहरूले पुष्टि गरेका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
यमनमा जारी द्वन्द्वका बीच हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबका रणनीतिक पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल र साउदी अराम्कोका तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढाउँदै लगेका छन्। साउदी रक्षा मन्त्रालयले यस्ता आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र कामदारको सुरक्षामाथि चुनौती दिने कार्य सैह्य नहुने जनाएको छ।






