काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यो जितसँगै लुम्बिनी ३ खेलबाट ५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको हो भने लगातार तेस्रो हार व्यहोरेको पोखरा अंक तालिकाको पुछारमा छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनी लायन्सले ११.४ ओभरमा मात्र २ विकेटको क्षतिमा सजिलै पूरा गर्यो। लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको उत्कृष्ट पारी खेले। बलिङतर्फ पोखराका विपिन खत्रीले १ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सकेको थियो। पोखराका लागि चमिका करूणारत्नेले २५ तथा कप्तान कुशल भुर्तेलले १४ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
पोखरालाई कम स्कोरमा रोक्न बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट र तिलक भण्डारीले २ विकेट लिएका थिए।






