काठमाडौँ । अमेरिकाको भर्जिनियामा चर्चित बनेको नेपाली नर्स ममता काफ्ले हत्या प्रकरणमा अदालतको जुरीले उनका पति नरेश भट्टलाई सबै अभियोगमा दोषी ठहर गरेको छ। करिब दुई वर्षअघि रहस्यमय रूपमा बेपत्ता भएकी ममताको हत्या र त्यसपछि गरिएको लास लुकाउने तथा अपमान गर्ने कार्यसम्बन्धी ६ हप्ताभन्दा लामो अदालती सुनुवाइपछि यो फैसला आएको हो।
भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित अदालतमा चलेको यस मुद्दामा अभियोजन पक्षले पेस गरेका डिजिटल प्रमाण, फरेन्सिक रिपोर्ट र सीसीटीभी फुटेजका आधारमा जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोगमा दोषी ठहर गरेको हो। सुनुवाइका क्रममा नरेशले ममताको हत्या नगरेको तर शव व्यवस्थापन भने गरेको दाबी गरे पनि अदालतले अभियोजन पक्षको दाबीलाई सत्य ठहर गरेको छ।
सन् २०२४ को जुलाईमा ममता अचानक सम्पर्कविहीन भएपछि उनी कार्यरत नर्सिङ क्षेत्र र अमेरिका तथा नेपालभरका नेपाली समुदायमा यो घटनाले ठूलो तरंग ल्याएको थियो। अनुसन्धानको दायरा फराकिलो बनाउँदै प्रहरीले २०२४ को अगस्ट २२ मा नरेश भट्टलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा नरेशले ममताको हत्यापछि शव टुक्राटुक्रा पारेर विभिन्न स्थानमा फालेको खुल्न आएको थियो भने प्रहरीले अहिलेसम्म पनि ममताको शव फेला पार्न सकेको छैन।
दोषी ठहर भएसँगै नरेशलाई अब अधिकतम आजीवन कारावाससम्मको सजाय हुनेछ भने उनको सजाय निर्धारणसम्बन्धी अन्तिम फैसला सन् २०२७ को मार्च १२ मा तोकिएको छ। अदालतले फैसलासँगै उनको धरौटीसमेत खारेज गरेको छ। प्रिन्स विलियम काउन्टीकी कमनवेल्थ अटर्नी एमी एशवर्थले फैसलापछि प्रतिक्रिया दिँदै अदालतको यो निर्णयले पीडित परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराउने र ममताको जीवनको महत्व तथा कथा स्थापित भएको बताएकी छन्। ममताको न्यायका लागि निरन्तर आवाज उठाउँदै आएका अमेरिका र नेपालका नेपाली समुदायले अदालतको यो फैसलालाई स्वागत गरेका छन्।






