नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन्।नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको छ ।
बुधबार बेलुकी प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्। एमालेको मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो।
प्रधानमन्त्रीले राजीनामा नदिएपछि बुधबार बेलुकी एमालेका ८ जानै मन्त्रीहरू बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।
यस अघि एमालेले मंगलबार आजसम्मको समय दिएर प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।





