काठमाडौं। रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा रिटेनिङ वालसहितको ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको छ भने दुई जनाले भागेर ज्यान बचाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको रिटेनिङ वालसहितको ढिस्कोले पुरिएर उनिहरुको मृत्यु भएको हो।
ज्यान गुमाउनेहरुमा सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम परियार, ४० वर्षकी सुवित्रा परियार र २७ वर्षकी आइती परियार रहेको प्रहरीले जनाएको छ।
पुल निर्माणका लागि खाल्डो खनेर खाल्डोभित्र पर्खाल लगाउने क्रममा रिटेनिङ वालसहित ढिस्को झरेको प्रहरीको भनाई छ। उक्त स्थानमा ७ जनाले काम गर्दै थिए। त्यसमध्ये दुई जनाले भागेर ज्यान बचाउन सफल भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको छ।





