धादिङ, ३० माघ २०८१ । फागुन १ गतेको बिदाका विषयमा धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले फरक फरक सूचना जारी गरेका छन् । अध्यक्ष र उपाध्यक्ष दुवै जनाले माघ ३० गते बुधबार यस्तो परस्पर विपरीत निर्देशन जारी गरेका हुन् ।
अध्यक्ष गणेशलाल श्रेष्ठले १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय र संघसंस्थाहरु बन्द रहने बताएका छन् । तर गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले बिदा दिने विषयमा गाउँ कार्यपालिका बैठकमा छलफल नभएको भन्दै बिदा नरहेको सूचना निकालेकी छन् ।
उनले सर्वोच्च अदालतले समेत जनयुद्ध दिवसमा बिदा नदिन आदेश दिएको ,गृह मन्त्रालयले पनि विदा नभएको जानकारी दिएकाले गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र वित्तीय संस्थाहरु यथावत रुपमा खोल्न आग्रह गरेकी छन् । गाउँपालिका अध्यक्ष श्रेष्ठ माओवादी केन्द्रबाट र उपाध्यक्ष बिसुराल नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
गत बर्ष पनि अध्यक्षले सार्वजनिक विदा घोषणा गरेकोमा उपाध्यक्षले अध्यक्षले गैरकानूनी ढंगबाट विदा दिएको भन्दै विरोध जनाएकी थिईन ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
