काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेत्तृत्व चयनका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रको प्यानलको जित सुनिश्चित भएको छ । अब गणना हुन बाँकी मतभन्दा मिश्रको प्यानलले बढी मतअन्तर कायम गरिसकेकाले जित निश्चित भएको हो ।
तेस्रो दिनको मतगणना आजका लागि स्थगित भएको छ । अब ललितपुर बार एसोसिएसन केन्द्रको ५ सय ६० मत मात्र गन्न बाँकी छ । यो भोलि मात्र गणना हुने छ । निर्वाचन समितिले भोलि नै मिश्र नेतृत्वको प्यानललाई निर्वाचित भएको घोषणा गर्नेछ ।
निर्वाचन समितिकाअनुसार बार एसोसिएसनको नयाँ अध्यक्षका लागि मिश्रले ४ हजार ८ सय ९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी रमनकुमार श्रेष्ठले २ हजार २२९ मत पाएका छन् । दुई बीचको अन्तर २ हजार ६ सय ६३ मत रहेको छ ।
महासचिव पदमा पनि मिश्र प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको जित निश्चित देखिएको छ।
यस्तै, कोषाध्यक्षमा मिश्र प्यानलकै अधिवक्ता जगतबहादुर कार्की विजयी हुने छन् । केही मत गणना बाँकी रहे पनि मिश्र प्यानलका सबै २५ उम्मेदवारले निर्णायक अग्रता बनाइसकेकाले सम्पूर्ण प्यानलको जित सुनिश्चित भइसकेको छ ।
अन्तिम गणना सम्पन्न भएपछि निर्वाचन समितिले बिहीबार आधिकारिक परिणाम सार्वजनिक गर्नेछ । निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
