काठमाडौँ-कुलमान घिसिङले सडक र पुल निर्माणका वर्षौंदेखि अलपत्र ठेक्का तोड्ने तयारी थालेका छन्। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका २३४ वटा ठेक्का रुग्ण सूचीमा परेका छन्।
दमकमा ३८, काठमाडौंमा ७५, पोखरामा ३९, सुर्खेतमा ४९, हुलाकीमा १६ र मध्यपहाडी लोकमार्गमा १७ ठेक्का तोडिने भएका छन्।
मन्त्री घिसिङले शनिबार उच्चस्तरीय बैठकमा ‘काम नगरी रकम कब्जा गर्ने’ प्रवृत्तिको अन्त्य गर्न ठेक्का तोड्नुको विकल्प नरहेको बताए। उनले यसरी रुग्ण ठेक्का बनाउन संलग्न तत्कालीन तथा हालका कर्मचारीमाथि पनि छानबिन हुने स्पष्ट संकेत गरे।
उनका अनुसार, कम रकम कबोल गरी ठेक्का लिने, परिचालन पेश्की लिएर अन्यत्र लगानी गर्ने तर काम नगर्ने प्रवृत्तिलाई रोक्न यो कदम आवश्यक छ।
निर्धारित म्यादभन्दा १००–४०० प्रतिशतसम्म समय थपिएर पनि काम आधा वा अधूरो रहेको, दुई करोडभन्दा बढी मूल्यका ठेक्का सम्झौता भएका परियोजनालाई रुग्ण ठेक्का मानिएको छ।
घिसिङले निर्माण व्यवयासी वा कर्मचारी जोसुकै भए पनि कसैको दबाबमा नपरी ठेक्का तोड्न निर्देशन दिएका छन्। उनले यसलाई सुशासन कायम गर्ने महत्वपूर्ण कदमका रूपमा चित्रित गर्दै पूर्ण संरक्षणको आश्वासन दिएका छन्।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
