काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत आज आइतबार तीनवटा महत्वपूर्ण खेलहरू हुँदैछन्। प्रतियोगिताको तेस्रो दिन आज समूह ‘ए’ मा रहेको घरेलु टोली नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ। नेपाल र माल्दिभ्सबीचको यो खेल साँझ ५ बजे सुरु हुने तालिका रहेको छ।
जारी प्रतियोगितामा नेपालले मिश्रित सुरुवात गरेको छ। उद्घाटन खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको नेपालले हिजो शनिबार भएको दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै किर्गिस्तानलाई ३–० को सोझो सेट (२५-१८, २५-२० र २५-१३) ले पाखा लगाएको थियो। यता माल्दिभ्स भने आफ्ना सुरुवाती दुवै खेलमा पराजित भइसकेको छ। माल्दिभ्स किर्गिस्तान र भारत दुवैसँग सोझो सेटमा पराजित भएको हो। नेपाललाई सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित र बलियो बनाउन आज माल्दिभ्समाथि सोझो सेटमै जित निकाल्नुपर्ने दबाब र अवसर दुवै छ।
आज कभर्डहलमा अन्य दुई खेलहरू पनि हुनेछन्। दिनको पहिलो खेलमा अपरान्ह १२ बजे पुल ‘बी’ का इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा दिउँसो साढे २ बजे पुल ‘बी’ कै बंगलादेश र काजकिस्तान आमनेसामने हुनेछन्। जेठ १४ गतेसम्म सञ्चालन हुने यस च्याम्पियनसिपमा नेपाल, भारत, किर्गिस्तान, माल्दिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश गरी कुल ८ राष्ट्रले सहभागिता जनाएका छन्।
घरेलु मैदानमा भइरहेको यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टोली मैदानमा उत्रिएको छ। नेपाली टोलीमा कप्तान निरुतासँगै उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्।





