धादिङ । स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै धादिङ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला’ घोषित भएको छ । जिल्लाभित्रका रैथाने तथा अस्थायी रूपमा बसोबास गरिरहेका लक्षित उमेर समूहका सबै बालबालिकाहरूले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै प्रकारका रोगविरुद्धका खोपहरू पूर्ण रूपमा पाएको सुनिश्चित भएपछि मंगलबार (असार ३० गते) एक भव्य समारोहका बीच यो घोषणा गरिएको हो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका खोप कार्यक्रम फोकल पर्सन (स्रोतव्यक्ति) उत्तम प्याकुरेलले धादिङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणा गर्दै स्वास्थ्य कार्यालय धादिङलाई औपचारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याकुरेलले खोप कार्यक्रम केवल एक स्वास्थ्य प्रक्रिया मात्र नभई बालबालिकाको नैसर्गिक जीवन रक्षाको ग्यारेन्टी र स्वस्थ, सुरक्षित एवं समुन्नत समाज निर्माणको बलियो प्रस्थानविन्दु भएको बताउनुभयो । उहाँले भौगोलिक विकटताका बाबजुद धादिङले हासिल गरेको यो उपलब्धि उदाहरणीय रहेको उल्लेख गर्दै भन्नुभयो, “यो घोषणा गर्नु जति चुनौतीपूर्ण थियो, आगामी दिनमा यसको दिगोपना कायम राख्नु र एउटै पनि बालबालिका खोपबाट नछुट्ने वातावरण बनाइराख्नु अझ बढी महत्वपूर्ण छ, जसमा सबै निकायको निरन्तर सहकार्य आवश्यक हुन्छ ।”
स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलका अनुसार जिल्लाका सबै ११ वटै स्थानीय तहका प्रत्येक वडा र बस्तीहरूमा गरिएको सघन घरधुरी सर्वेक्षण (क्लस्टर सर्भे) र सूक्ष्म अनुगमनका क्रममा लक्षित उमेर समूहका कुनै पनि बालबालिका खोप सेवाबाट नछुटेको पुष्टि भएपछि मात्र यो घोषणा सम्भव भएको हो । पछिल्लो तथ्याङ्कअनुसार धादिङ जिल्लामा जन्मेदेखि १५ महिनासम्मका ३ हजार ७ सय २४ जना र १६ महिनादेखि २३ महिनासम्मका ३ हजार ३ सय ३४ जना गरी कुल ७ हजार ५८ जना बालबालिकाहरूले राष्ट्रिय तालिकाबमोजिमका सबै आवश्यक खोपहरू पूर्ण रूपमा प्राप्त गरिसकेका छन् ।
बालमृत्युदर घटाउन र संक्रामक रोगहरूको जोखिमबाट बालबालिकालाई बचाउन सरकारले सञ्चालन गरेको यो राष्ट्रिय अभियानलाई धादिङका स्थानीय तहहरूले उच्च प्राथमिकतामा राखेका थिए । जिल्लाका दुर्गम तथा चेपाङ, सीमान्तकृत र इँटाभट्टामा कार्यरत मजदुरका बालबालिकाहरू सम्म पनि खोपको पहुँच पुर्याउन स्वास्थ्यकर्मीहरूले विशेष अभियान सञ्चालन गरेका थिए ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणको यो साझा अभियानलाई सफलताको बिन्दुमा पुर्याउन उल्लेखनीय र प्रशंसनीय योगदान पुर्याउने जिल्लाका स्थानीय तहहरू, स्वास्थ्य शाखाहरू, विभिन्न स्वास्थ्य संस्थाहरू, नागरिक समाज र विशेष गरी ग्रामीण भेगमा घर-घर पुगेर अग्रपंक्तिमा अहोरात्र खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कार्यक्रमका अवसरमा कदरपत्रसहित विशेष सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिहरूले आगामी दिनमा पनि खोपको दिगोपनाका लागि स्थानीय सरकार र स्वास्थ्य प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहने सामूहिक प्रतिबद्धता जनाएका छन् ।






