चितवन, साउन १ । चितवन जिल्लाका विभिन्न अस्पतालहरूमा उपचारका लागि आउने बिरामीहरूमा स्क्रब टाइफसको सङ्क्रमण तीव्र रूपमा देखिएको छ । गत एक वर्षको अवधिमा जिल्लाका अस्पतालहरूमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरूमध्ये ८९३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सरकारी, निजी तथा मेडिकल कलेजहरूमा उपचारका लागि आएका ११ हजार ४१९ जना बिरामीको रगत परीक्षण गरिएको थियो । सोही परीक्षणका क्रममा ठूलो संख्यामा स्क्रब टाइफसका सङ्क्रमित फेला परेका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमण पुष्टि भएका कुल बिरामीमध्ये ६२१ जना चितवन जिल्लाकै स्थायी बासिन्दा रहेका छन् । बाँकी सङ्क्रमितहरू भने छिमेकी जिल्लाहरूबाट चितवनका सुविधासम्पन्न अस्पतालहरूमा उपचारका लागि आएका बिरामीहरू हुन् । जिल्लाभित्रका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी सङ्क्रमित रत्ननगर नगरपालिकामा भेटिएका छन् । रत्ननगरमा मात्रै २४६ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । यसैगरी खैरहनी नगरपालिकामा ११७ जना, भरतपुर महानगरपालिकामा ९० जना, राप्ती नगरपालिकामा ८२ जना र कालिका नगरपालिकाका ६९ जनामा यो रोगको सङ्क्रमण देखिएको छ । जिल्लाको इच्छाकामना गाउँपालिकामा १० जना र माडी नगरपालिकामा ७ जना सङ्क्रमित भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यस वर्ष अस्पताल आउने र परीक्षण गर्नेहरूको संख्यामा वृद्धि भएको छ । आव २०८१/८२ मा ७ हजार ९५ जनाको परीक्षण गरिएकोमा १ हजार ५५ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । जनस्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमणको जोखिम जिल्लामा अझै उच्च रहेको छ र चालु आर्थिक वर्षमा मात्रै यो रोगको सङ्क्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भइसकेको छ ।
यो रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित ‘चिम्टा’ अर्थात् किर्ना जस्तो सूक्ष्म जीवले मानिसलाई टोकेपछि सर्ने गर्दछ । विशेष गरी वर्षात्को समयमा ओसिलो ठाउँ, घाँस र झाडीमा यस्ता किर्नाहरू बढी सक्रिय हुने गर्दछन् । स्क्रब टाइफस भएमा अचानक उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, आँखा रातो हुने, खोकी लाग्ने तथा जोर्नी र मांसपेशीहरू दुख्ने जस्ता लक्षणहरू देखा पर्दछन् । यसका साथै बिरामीमा वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न समस्या हुने र शरीरमा साना राता बिमिराहरू देखिने गर्दछन् । कतिपय अवस्थामा किर्नाले टोकेको ठाउँमा कालो दागजस्तो दाग समेत बस्ने चिकित्सकहरू बताउँछन् ।
किट नियन्त्रक राम केसीका अनुसार यो रोगबाट बच्नका लागि सर्वसाधारण आफैं सचेत र सजग हुनुपर्छ । खेतबारी, झाडी वा वनजङ्गलमा काम गर्न जाँदा अनिवार्य रूपमा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउन जनस्वास्थ्य कार्यालयले सुझाव दिएको छ । यस्तै शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर र गोठ वरपर घाँस धेरै बढ्न नदिने, वातावरण सफा राख्ने तथा मुसा नियन्त्रणका लागि अन्न भण्डारण सुरक्षित तरिकाले गर्न अनुरोध गरिएको छ । चिकित्सकहरूका अनुसार यस्ता लक्षण देखिनासाथ तुरुन्तै अस्पताल गएर परीक्षण गराई औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको हुन्छ ।






