चितवन, २९ असार –चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक पुरुषको शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुवेर हराउँदा बसमा सवार यात्रुहरु खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो ।
चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
यद्यपि, शव दुर्घटनामा मृत्यु भएका व्यक्तिको हो होइन यकिन भइसकेको छैन । शव भेटिएको स्थान बस खसेको भन्दा झण्डै ५० किलोमिटर तल हो । दुर्घटनामा परेका व्यक्तिहरुका आफन्तहरु प्रहरीको सम्पर्कमा छन् । उनीहरुसँग समन्वय गरेर दुर्घटनामा परेका व्यक्ति हुन् वा होइनन् पहिचानको प्रकृया अघि बढाइने भएको छ ।
शुक्रबार दुईवटा गुडिरहेको बसलाई पहिरोले बगाएर त्रिशूलीमा डुबाउँदा ५० भन्दा बढी यात्रु बेपत्ता भएका छन् । बससहित उनीहरुको खोजी तथा उद्धार बिहानैदेखि गोताखोरसहितको प्रहरी टोली त्रिशूली तथा नारायणी नदी क्षेत्रमा तैनाथ गरिएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
