काठमाडौं । देशका धेरै स्थानमा गएरातीदेखि लगाातार वर्षा भइरहेको छ । लगातारको वर्षाले विभिन्न क्षेत्रका नदी तथा खोलामा पानीको बहावसँगै जोखिम बढेको छ । काठमाण्डौमा विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले नदी तटीय क्षेत्र आसपास बस्ने र नदी किनार भई यात्रा गर्नेहरूलाई दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै ललितपुरको गोदावरी नगरपालिकामा रहेको खोड्कु खोला झरुवाराशी जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । त्यस क्षेत्रमा नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकोले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
यसैबीच, आज सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी ९ पूर्व०, नवलपरासी ९ पश्चिम०, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेको छ ।
यस क्षेत्रका मेलम्ची, बाग्मती, बिष्णुमती, धोबि खोला, हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
आज र भोलि तमोर, अरूण, तिनाउ, बाग्मती, कमला, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । भोलिसम्मै वर्षाको सम्भावना रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।