काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले संविधान संशोधनका नाममा जनताको हकअधिकार र प्राप्त उलब्धिलाई मास्ने काम माओवादी पार्टीलाई सह्य नहुने धारणा व्यक्त गर्नुभयो ।
उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष दाहालले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट पार्नुभयो
बहुमतका नाममा जथाभावी गर्ने छुट कोही कसैलाई पनि नरहेको स्पष्ट गर्दै प्रचण्डले मुलुक र जनताविरोधी काम नगर्न सरकारलाई खबरदारी गर्नुभयो ।





