काठमाडौं । देशका धेरै स्थानमा गएरातीदेखि लगातार पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ ।
भोलि साँझसम्मनै पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने उहाँले बताउनुभयो । गएरातिदेखि नै ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ ।
नारायणी, कन्काई, कमला, बागमती, राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो यस्तै धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ । यसवर्षको दशैं पनि हिले दशै हुने मौसमविभाग बताइसकेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।