काठमाडौँ । पाकिस्तान सरकारले २०२६ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मनोनित गरेको छ । पाकिस्तानले भारत-पाकिस्तान युद्धको समयमा ट्रम्पको कूटनीतिक पहल र मध्यस्थताले ठूलो युद्ध रोक्न मद्दत गरेको बताउदै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएको छ।
पाकिस्तान सरकारले आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ, ट्रम्पले नयाँ दिल्ली र इस्लामाबाद दुवैसँग कुरा गरेर युद्धविराममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसले दुई आणविक शक्तिहरू बीचको युद्धको सम्भावनालाई टारेको छ ।
पाकिस्तानले कश्मीर मुद्दामा ट्रम्पको मध्यस्थताको प्रस्तावको पनि प्रशंसा गरेको छ, साथै कश्मीर समाधान नभएसम्म यस क्षेत्रमा स्थायी शान्ति हुन नसक्ने उल्लेख गरेको छ ।
त्यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान बीचको युद्ध रोक्न, रूस-युक्रेन र इरान-इजरायल जस्ता विवादहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्, तर उनले नोबेल शान्ति पुरस्कार नपाउने पनि बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले जे गरे पनि, मलाई नोबेल शान्ति पुरस्कार मिल्नेछैन । मैले, विदेशमन्त्री मार्को रुबियोसँग मिलेर कंगो-रवाण्डा युद्ध रोक्न शान्ति सम्झौतामा मध्यस्थता गरें । यो दशकौंदेखि चलिरहेको रक्तपातपूर्ण द्वन्द्व थियो ।’
नोबेल पुरस्कार २०२६ को लागि आधिकारिक दर्ता भने सेप्टेम्बरमा सुरु हुनेछ । यद्यपि, अन्तिम मिति अझै घोषणा गरिएको छैन । २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयनको अन्तिम मिति जनवरी ३१ थियो ।
यसअघि बुधबार ट्रम्पले पाकिस्तानका सेना प्रमुख जनरल असिम मुनिरलाई ह्वाइट हाउसको बन्द कोठामा भेट गरेका थिए । दुवैले ह्वाइट हाउसको क्याबिनेट रुममा सँगै लन्च समेत गरेको बताइएको छ । कुनै पनि अमेरिकी राष्ट्रपतिले पाकिस्तानका सेना प्रमुखलाई ह्वाइटहाउस आतिथ्यता दिएको यो पहिलो पटक थियो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
