काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको क्रममा भएको प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै आयोगले पछिल्लो पुस्ताले उठाएको आवाजप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ।
आयोगले सोमबार काठमाडौंसहित देशका विभिन्न शहरमा भएको प्रदर्शनको अनुगमनका क्रममा आफ्नै अनुगमन टोलीमाथि समेत हिंसात्मक आक्रमण भएको उल्लेख गरेको छ। प्रदर्शनमा प्रहरीको लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार भएको आयोगको प्रत्यक्ष अनुगमनमा पाइएको जनाएको छ।
आयोगका अनुसार काठमाडौंमा मात्रै नभई पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायतका शहरहरूमा पनि विरोध प्रदर्शन भएको थियो। माइतीघरदेखि सुरु भई बबरमहल हुँदै नयाँबानेश्वरसम्म पुगेका प्रदर्शनकारी संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको र सो क्रममा गोली लागेर दर्जनभन्दा बढीले ज्यान गुमाएको तथा धेरै घाइते भएको आयोगले जनाएको छ।
आयोगले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ। साथै, सरकारले मृतकका परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न तथा दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ।
नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार शान्तिपूर्ण प्रदर्शन गर्न सबै नागरिकलाई अधिकार प्राप्त भएको स्मरण गराउँदै आयोगले प्रदर्शनकारीलाई पनि मर्यादित र संयमित रहन आग्रह गरेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।
