चितवन । चितवनको रत्ननगर-१२ मा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा त्यहाँ कार्यरत ३ जना मजदुरको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
घटनापछि घाइतेहरूलाई तत्कालै भरतपुरको नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा ३ जनाको मृत्यु भएको र २ जना घाइतेको उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी सुवास भट्टले जानकारी दिए ।
डीएसपी भट्टका अनुसार, बुधबार उक्त उद्योगको पर्खाल भत्किँदा मजदुरहरू भत्किएको पर्खालमुनि पुरिएका थिए। मृत्यु हुनेमा खैरहनी-२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर-१२ मा बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर-१२ कै ४५ वर्षीय कमल गुरुङ रहेका छन्। यस्तै, घाइते हुनेमा पर्सा घर भई रत्ननगर-१२ मा बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा घर भई रत्ननगर-१२ मा बस्ने ४० वर्षीय अंकजप्रसाद थारु रहेका छन्।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । उद्योगको पुरानो संरचना वा अन्य प्राविधिक समस्याले यस्तो भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेका परिवारजनलाई सम्पर्क गरी आवश्यक सहयोगको व्यवस्था गर्ने तयारी भइरहेको डीएसपी भट्टले बताएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




