धादिङ । धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष डा. सीता ढुंगानाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यको भूमिकाबाट अलग भएको घोषणा गरेकी छन्।
गाउँपालिका उपाध्यक्ष हुँदै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य बनेकी ढुंगाना पछिल्लो समय प्रचण्ड नेतृत्वमा बनेको नेकपाको केन्द्रीय सदस्यमा समेटिएकी थिइन्। तर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको २४९९ सदस्यीय केन्द्रीय समितिको सपथ उनले ग्रहण नगरेको र पार्टीको भूमिकामा नरहने निर्णय गरिसकेको उनले स्पष्ट पारेकी छन्।
माघ २ गते शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटस लेख्दै ढुंगानाले भनिन्,
“नेकपाको २४९९ सदस्यीय केन्द्रीय समितिको सपथ ग्रहण नगरेको र सो भूमिकामा नरहने निर्णय गरिसकेको जानकारी मेरा सम्पूर्ण शुभचिन्तक, आदरणीय, माननीय तथा सम्माननीयहरूमा गराउन चाहन्छु।”
यो घोषणालाई उनको नयाँ राजनीतिक यात्राको संकेतका रूपमा लिइएको छ। लामो समय धादिङका वरिष्ठ कम्युनिस्ट नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेको निकट रहेर राजनीतिमा सक्रिय रहँदै आएकी ढुंगानाले पार्टीभित्र पुस्तान्तरण नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
ढुंगानाको भनाइ अनुसार विगत वर्षौँदेखि एउटै नेतृत्व र एउटै प्रतिनिधिलाई बोकेर मतदाताको घरघरमा मत माग्न जान नसक्ने अवस्था बनेको छ। उनले आम जनताबाट नै पुराना नेताको विकल्प खोज्नुपर्ने सुझाव आएको र नेतृत्वमा पुस्तान्तरणको कुनै स्पष्ट संकेत नदेखिएकाले पार्टीको पद परित्याग गर्ने निर्णय गरेको बताइन्।
“विगत ४०–४५ वर्षदेखि धादिङमा एउटै नेतृत्व हावी रहँदै आएको छ। नेतृत्वमा पुस्तान्तरणको कुनै गुन्जायस नदेखिएकाले जनताको आग्रहलाई आत्मसात् गर्दै परिवर्तनका लागि नेकपा छोड्ने निर्णय गरेको हुँ,” ढुंगानाले उल्लेख गरेकी छन्।
नेकपा एमालेको विद्यार्थी संगठनबाट राजनीति सुरु गरेकी डा. सीता ढुंगाना धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन्। उनी धादिङको राजनीतिमा सशक्त महिला नेतृका रूपमा परिचित छिन्। उनको पछिल्लो निर्णयले धादिङको राजनीतिक वृत्तमा नयाँ बहस र तरंग सिर्जना गरेको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




