चितवन । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङबेसीस्थित त्रिशूली नदी किनारमा फेला परेको गणपति डिलक्स बसबाट मानव अवशेष फेला परेको छ। बस उत्खनन कार्य सुरु गरिएको १६औँ दिनमा उक्त अवशेष फेला परेको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बसको बीच भागको सिटबाट एउटा मानव अवशेष भेटिएको हो। फेला परेको अवशेष चिकित्सकसहितको टोलीले संकलन गरी भरतपुर अस्पतालको शवगृहमा ल्याइएको उहाँले जानकारी दिनुभयो।
सोमबार बसको इन्जिनको भाग टुक्र्याएर बाहिर निकालिएको छ भने बसको पछिल्लो र बीच भाग निकाल्न अझै बाँकी रहेको जनाइएको छ। बीच भागमै अवशेष भेटिएकाले थप मानव अवशेष हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बस निकाल्ने कार्यलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।
उत्खनन कार्यमा तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। चेनपुलीको सहायतामा निरन्तर उत्खनन भइरहेको छ।
गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा बसको अवशेष देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसयता नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेल्चा प्रयोग गरी बालुवा हटाउँदै बसको खोजी तथा उत्खनन कार्य सुरु गरेका थिए।
उल्लेखनीय छ कि २०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि करिब २२ किलोमिटर पूर्व भरतपुर–२९ सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा खसेका थिए।
दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसका तीन जना यात्रु पौडेर ज्यान बचाउन सफल भएका थिए भने बाँकी यात्रुहरू बससँगै नदीमा बेपत्ता भएका थिए। दुर्घटनापछि केही यात्रुका शव मात्रै फेला परेका थिए।
बस र यात्रुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गोताखोर, वाटर ड्रोन (सोनार प्रविधि) प्रयोग गरी करिब पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। थप खोजीका लागि सरकारले भारतबाट उच्च प्रविधिसहितका गोताखोर समेत ल्याएको भए पनि लामो समयसम्म बस फेला पर्न सकेको थिएन।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।




