काठमाडौँ । विश्व क्रिकेटको बहुप्रतिक्षित प्रतिस्पर्धा मानिने भारत र पाकिस्तानबीचको भिडन्त यसपटकको टी–२० विश्वकपमा नहुने सम्भावना बढेको छ। पाकिस्तान सरकारले आधिकारिक रूपमा भारतसँगको खेल बहिष्कार गर्ने निर्णय गरेपछि क्रिकेट जगतमा नयाँ तरंग पैदा भएको छ।
पाकिस्तान सरकारले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत विश्वकपमा सहभागिता जनाए पनि भारतविरुद्धको खेलमा भने मैदान नउत्रने घोषणा गरेको हो। विश्वकपका लागि पाकिस्तानी टोली आयोजक राष्ट्र श्रीलंका पुगिसकेको भए पनि फेब्रुअरी १५ मा हुने तय भएको भारतसँगको खेल आफूहरूले नखेल्ने निर्णय सरकारले सार्वजनिक गरेको छ।
पाकिस्तानको यो अप्रत्याशित निर्णयप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कडा आपत्ति जनाएको छ। आईसीसीले खेल बहिष्कार गरेमा पाकिस्तानले गम्भीर प्राविधिक र अनुशासनिक नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ। नियम अनुसार कुनै पनि टोलीले बिना ठोस कारण खेल बहिष्कार गरेमा अंक कटौतीदेखि प्रतिबन्धसम्मको सामना गर्नुपर्ने हुनसक्छ।
भारत र पाकिस्तानबीचको खेललाई विश्वभरका करोडौँ क्रिकेट प्रेमीहरूले चासोका साथ हेर्ने गर्छन्। राजनीतिक तनावका कारण यी दुई देशबीच लामो समयदेखि द्विपक्षीय सिरिज हुन सकेको छैन। अब विश्वकप जस्तो ठूलो मञ्चमा पनि खेल बहिष्कार हुने भएपछि यसले क्रिकेटको व्यावसायिक र खेल भावनामा ठूलो धक्का पुग्ने विश्लेषण गरिएको छ।
फेब्रुअरी १५ को खेलका लागि सबै तयारी पूरा भइसकेको अवस्थामा पाकिस्तानको यो कदमले प्रतियोगिताको समीकरण नै परिवर्तन गरिदिने देखिएको छ।




