काठमाडौं, चैत ६- निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेल लाई निर्वाचन प्रतिवेदन बुझाएसँगै सरकार गठनका लागि राजनीतिक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।
छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सहभागी छन्। उनीहरू सम्भावित सत्ता समीकरण र सरकार गठनको रणनीतिबारे केन्द्रित रहेर छलफल गरिरहेका छन्।
निर्वाचन आयोगले औपचारिक रूपमा प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ। अब रास्वपाले सांसदहरूको शपथ अघि नै सरकार गठन गर्ने कि संघीय संसद सचिवालयले तोकेको चैत १२ गतेको शपथसम्म पर्खिने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
यसअघि २०७४ सालको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले सांसदहरूको शपथअघि नै सरकार गठन गरेका थिए। अहिले पनि त्यस्तै अभ्यास दोहोरिन सक्छ कि भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।





