काठमाडौँ २०८२ चैत १९ | गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित जनप्रनिनिधिहरूको पहिलो ऐतिहासिक अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ। सिंहदरवार स्थित संसद् भवनमा दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा नयाँ सत्ता समीकरण र संसदीय अभ्यासका महत्वपूर्ण कार्यसूचीहरू रहेका छन्।
संसद्को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्। बैठकको सुरुमा उनले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ। त्यसलगत्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराइनेछ।
आजको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले तीनवटा महत्वपूर्ण अध्यादेशहरू पेश गर्ने कार्यसूची रहेको छ। जसमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ र ‘नेपाल विशेष सेवा अध्यादेश’ रहेका छन्। यी अध्यादेशहरूले निर्वाचन प्रणाली र सुरक्षा संयन्त्रमा महत्वपूर्ण सुधार गर्ने अपेक्षा गरिएको छ।
आजको बैठकको अर्को प्रमुख आकर्षण सभामुख पदको निर्वाचनको मिति तय गर्नु रहेको छ। ज्येष्ठ सदस्य केसीले सभामुखको निर्वाचनका लागि मिति र समयको घोषणा गर्नेछन्। यसका साथै, प्रतिनिधिसभाले आफ्नो नयाँ नियमावली नबनाएसम्मका लागि मौजुदा नियमावलीअनुसार नै कार्यसम्पादन गर्ने प्रस्तावलाई स्वीकृतिका लागि पेश गरिने कार्यसूची तय गरिएको छ।
संसद्को पहिलो बैठक भएकाले आज विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दलीय आधारमा सदनलाई सम्बोधन गर्नेछन्। नेताहरूले नयाँ संसद्को कार्यकाल, जनअपेक्षा र आगामी राजनीतिक दिशाका बारेमा आफ्ना धारणा राख्दै नवनिर्वाचित सदस्यहरूलाई शुभकामना दिने कार्यक्रम छ।
यो अधिवेशनले मुलुकको नयाँ नीति निर्माण र वर्तमान राजनीतिक चुनौतीहरूको समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।





