काठमाडौं, ५ जेठ : स्वदेशमा पर्याप्त रोजगारीको अवसर नहुँदा कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा लगातार वृद्धि भइरहेको छ। पछिल्लो सरकारी तथ्यांक अनुसार गत वैशाख महिनामा मात्रै ७४ हजारभन्दा बढी नेपाली नागरिकले वैदेशिक रोजगारीका लागि मुलुक छोडेका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार वैशाख महिनामा नयाँ र पुनः श्रम स्वीकृतिसहित कुल ७४ हजार ४ सय २९ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका हुन्। यसले नेपाली श्रम बजारबाट युवा जनशक्ति बाहिरिने क्रम अझै तीव्र बनिरहेको देखाउँछ।
विभागको विवरण अनुसार वैशाख महिनामा वैदेशिक रोजगारीको बाटो रोज्नेहरूमा पुरुषको संख्या अत्यधिक रहेको छ। कुल श्रम स्वीकृति लिनेहरूमध्ये ६५ हजार १० जना पुरुष रहेका छन् भने ९ हजार ४ सय १९ जना महिला रहेका छन्। यस महिना संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीहरूको संख्या ४१ हजार ३ सय २४ रहेको छ। त्यसैगरी, यसअघि नै वैदेशिक रोजगारीमा गइ बिदामा फर्किएर पुनः श्रम स्वीकृति लिई गन्तव्य मुलुकतर्फ फर्कने नेपालीहरूको संख्या ३३ हजार १ सय ५ रहेको विभागको तथ्यांकमा उल्लेख छ।
विगतका महिनाहरूको तुलनामा वैशाखमा वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। यसअघि गत चैत २०८२ मा कुल ६१ हजार ८ सय १९ जना नेपाली श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए। चैत महिनाको तुलनालाई हेर्दा वैशाखमा मात्रै १२ हजार ६ सय १० जना बढी नेपाली युवाहरू रोजगारीका लागि विदेशिएका हुन्। नयाँ वर्षको सुरुवातसँगै वैदेशिक रोजगारीको माग र प्रक्रियामा आएको तेजीका कारण यो संख्या बढेको अनुमान गरिएको छ।
चालु आर्थिक वर्षको समग्र चित्र हेर्ने हो भने वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक अझ भयानक देखिन्छ। चालु आर्थिक वर्षको साउन महिनादेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा कुल ६ लाख ६१ हजार ७ सय ६१ जना नेपाली कामको खोजीमा विदेसिएका छन्। यस १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेहरूमा ५ लाख ८२ हजार ९ सय ३९ जना पुरुष र ७८ हजार ८ सय २२ जना महिला रहेका छन्। नेपालको अर्थतन्त्र विप्रेषण (रेमिट्यान्स) मा निर्भर रहँदै आए तापनि यसरी ठूलो संख्यामा उत्पादक उमेर समूहका युवा जनशक्ति विदेशिँदा दीर्घकालमा आन्तरिक उत्पादन र विकास निर्माणमा दक्ष जनशक्तिको अभाव हुन सक्ने प्रति चिन्ता व्यक्त गर्न थालिएको छ।





