धादिङवेशी, । जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सञ्चार क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी र मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
आर्थिक वर्षभर सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे आम नागरिक र सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले धादिङवेशीमा सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग एक परिचर्चा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रका विभिन्न सूचक, तथ्यांक र अनुभवका आधारमा जिल्लाको समग्र स्वास्थ्य अवस्थाको गहन समीक्षा गरिएको हो।
जनस्वास्थ्य कार्यालय धादिङको सभाहलमा सम्पन्न उक्त समीक्षा कार्यक्रममा कार्यालय प्रमुख अर्जुन पौडेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा कार्यालयका विभिन्न शाखाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूले आर्थिक वर्षभर सञ्चालन भएका कार्यक्रमहरूको विस्तृत प्रगति प्रतिवेदन र कार्यविवरण प्रस्तुत गरेका थिए। प्रतिवेदन प्रस्तुतीकरणका क्रममा जिल्लामा सञ्चालित नियमित खोप सेवा, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित मातृत्व कार्यक्रम, पोषण सुधार अभियान, परिवार नियोजन सेवा, क्षयरोग तथा कुष्ठरोग नियन्त्रण, एचआईभी तथा सरुवा रोग नियन्त्रण, नसर्ने रोग रोकथाम, मानसिक स्वास्थ्य, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा समुदायमा आधारित स्वास्थ्य प्रवर्द्धन कार्यक्रमका उपलब्धि र चुनौतीबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख अर्जुन पौडेलले स्वास्थ्य सेवाको विस्तार, रोग नियन्त्रण तथा समुदायमा आधारित स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा धादिङ जिल्लाले यस वर्ष उत्साहजनक उपलब्धि हासिल गरेको दाबी गर्नुभयो। उहाँका अनुसार मातृ तथा शिशु स्वास्थ्यमा आएको सुधार, नियमित खोप कार्यक्रमको उच्च पहुँच, सुरक्षित प्रसूति सेवाको विस्तार तथा स्वास्थ्य सेवाप्रति नागरिकको बढ्दो पहुँचका कारण जिल्लाको स्वास्थ्य सूचक सकारात्मक दिशातर्फ उन्मुख भएको छ।
यद्यपि, धादिङको दुर्गम भौगोलिक अवस्था, स्वास्थ्य संस्थाहरूमा आवश्यक दक्ष जनशक्तिको अभाव, केही दुर्गम क्षेत्रमा सेवा पहुँचको कठिनाइ तथा स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी अझै पनि मुख्य चुनौतीका रूपमा रहेको प्रमुख पौडेलले उल्लेख गर्नुभयो। यी विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न संघ, प्रदेश, स्थानीय तह, सञ्चार माध्यम तथा समुदायबीचको एकीकृत सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रमका सहजीकर्ता तथा जनस्वास्थ्य निरीक्षक तोयानाथ छतकुलीले आर्थिक वर्षभर सञ्चालन भएका कार्यक्रमहरूको तथ्यांकसहितको विस्तृत समीक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँले आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, आधुनिक उपकरणको प्रभावकारी प्रयोग, जनशक्ति व्यवस्थापन, स्वास्थ्य सचेतनामूलक अभियानको विस्तार तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो। निरीक्षक छतकुलीले स्वास्थ्यसम्बन्धी सही, तथ्यपरक र विश्वसनीय सूचना समयमै नागरिकसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै स्वास्थ्य प्रवर्द्धनका हरेक अभियानमा सञ्चारकर्मीहरूको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा आफ्नो अमूल्य सुझाव राख्दै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक प्रयासहरूको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन आवश्यक सुधारहरू गरिनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष अधिकारीले स्वास्थ्यसम्बन्धी सूचना र जनचेतनामूलक सामग्रीहरूलाई समुदायको तल्लो तहसम्म प्रभावकारी ढंगले पुर्याउन जनस्वास्थ्य कार्यालय र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ संस्थागत र मजबुत बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अन्तरक्रियामा सहभागी अन्य सञ्चारकर्मी तथा सरोकारवालाहरूले स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवाको गुणस्तरमा निरन्तर सुधार, समुदायस्तरमा जनस्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि तथा स्वास्थ्य सूचना समयमै नागरिकसम्म पुर्याउन सबै पक्षबीच प्रभावकारी र निरन्तर समन्वय आवश्यक रहेको कुरामा जोड दिएका थिए।
कार्यक्रमको समापनका अवसरमा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देखिएका चुनौतीहरूको दीर्घकालीन समाधानका लागि सरकारी निकाय, स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चार क्षेत्र र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। जनस्वास्थ्य कार्यालय धादिङले आगामी दिनमा नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने मूल लक्ष्यका साथ आफ्ना कार्यक्रमहरूलाई अझ बढी परिणाममुखी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।





