काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेको छ । इप्पानले आइतबार विज्ञप्ती जारी गरी सरकार, नियामक निकाय तथा सम्बन्धित जलविद्युत कम्पनीहरूलाई यस्तो आग्रह गरेको हो । इप्पानले केही जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि रोकिँदा केही जलविद्युत प्रवद्र्धक कम्पनीले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रतिकित्ता १०० रुपैयाँमै स्थानीयबासी र सर्वसाधारणलाई बिक्री गर्न भनेको हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम (४) ले स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गराउने उद्देश्यले कूल स्वपुँजी लगानीको १० प्रतिशत सेयर उपलब्ध गराउने कानुनी व्यवस्था गरेकाले उक्त सेयर अंकित मूल्यमै उपलब्ध गराइनुपर्ने इप्पानको ठहर छ । जलविद्युत आयोजना केवल लगानीको माध्यम नभई स्थानीय समुदायसँगको विश्वास, सहकार्य र साझेदारीमा आधारित विकासको अभियान भएको उल्लेख गर्दै इप्पानले आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने तथा निर्माण अवधिका विभिन्न असुविधा सहने स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी गराउने उद्देश्यले नै स्थानीयका लागि सेयर छुट्याइएकाले यसको कार्यान्वयन गरिनुपर्ने विज्ञप्तीमा भनिएको छ ।
‘स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा निष्कासन गरिए उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्वको भावना कमजोर बन्ने तथा आयोजना र समुदायबीच लामो समयदेखि निर्माण हुँदै आएको विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्छ,’ विज्ञप्तीमा भनिएको छ । इप्पानका अनुसार स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँमा सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, स्वामित्वको भावना अभिवृद्धि हुने, आयोजना निर्माण तथा सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोध न्यून हुने तथा स्थानीय तहको सहयोग र सहकार्य थप सुदृढ हुने इप्पानको भनाई छ । स्थानीयलाई सेयरको अपनत्व दिँदा जलविद्युत आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण सिर्जना गर्नुका साथै स्थानीय समुदायको दीर्घकालीन आर्थिक लाभ, स्थानीय विकास र सामाजिक सद्भावमा समेत योगदान पुग्ने पनि इप्पानको विश्वास छ । इप्पानले स्थानीय प्रभावित बासिन्दाको हित, जलविद्युत आयोजनाको दीर्घकालीन स्थायित्व तथा निजी क्षेत्र र स्थानीय समुदायबीचको सुमधुर सम्बन्धलाई ध्यानमा राख्दै स्थानीयका लागि छुट्याइने सेयर अंकित मूल्यमै उपलब्ध गराउने नीति निरन्तर कायम राख्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । साथै, साधारण सेयर निष्कासनसँग सम्बन्धित नियामकीय प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्कासनमा भइरहेको ढिलाइका कारण जलविद्युत आयोजनाले भोगिरहेका समस्या समाधान गर्न आवश्यक पहल गर्न सरकार र सम्बन्धित निकायसँग इप्पानले आग्रह गरेको छ ।






