काठमाडौँ। नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने गम्भीर रोग जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएको छ। परिवार कल्याण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार हालसम्म देशभर ६३ जनामा जेई सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण १६ जनाले ज्यान गुमाइसकेका छन्।
देशभर कुल ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) को लक्षण देखिएकोमा परीक्षण गर्दा ६३ जनामा जेई पुष्टि भएको हो। महाशाखाका अनुसार पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ सङ्क्रमित थपिएका छन्। हालसम्म २२ जिल्लाका ५० स्थानीय तहमा यसको सङ्क्रमण फैलिसकेको छ।
सङ्क्रमित हुनेमा ३४ पुरुष र २९ महिला छन्। कुल सङ्क्रमितमध्ये ३१ जनाको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
जेई सङ्क्रमणबाट मृत्यु हुने १६ जनामध्ये कसैले पनि खोप नलगाएको पाइएको छ। मृत्यु हुनेमा नौ महिला र सात पुरुष रहेका छन्। महाशाखाको तथ्याङ्कअनुसार मृतकहरूमध्ये ८८ प्रतिशत व्यक्ति ५० वर्षभन्दा माथिका छन् भने समग्रमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू सङ्क्रमणको उच्च जोखिममा देखिएका छन्।
मृत्यु हुनेहरूमा सबैभन्दा बढी झापाका पाँच जना छन्। यस्तै सुनसरी र सप्तरीका दुई–दुई जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङका एक–एक जनाको मृत्यु भएको छ।
शुरुवाती चरणमा नेपालको पूर्वी क्षेत्रमा बढी देखिएको जेई सङ्क्रमण पछिल्लो समय पश्चिमतर्फ समेत विस्तार हुँदै गएको छ।
महाशाखाको स्थिति प्रतिवेदनअनुसार अधिकांश सङ्क्रमितहरू धानबारी तथा सुँगुर फार्मको आसपास बसोबास गर्नेहरू छन्। कुल सङ्क्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सीधा असर पुर्याउने गम्भीर रोग हो। यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्दछ। नेपालमा विशेष गरी साउनदेखि कात्तिक महिनासम्म यसको सङ्क्रमण अत्यधिक देखिने गर्छ।






