धादिङ, १० भदौ ।चीनको तिब्बत क्षेत्रबाट उत्तरी सीमाना हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक तथा भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा सडक पूर्वाधारमा व्यापक भौतिक क्षति पुर्याएको छ। नदी करिडोर तथा तटीय क्षेत्रमा आएको यस विनाशकारी बाढीका कारण सडक तथा पुल संरचना तहसनहस भई अर्बौँ रूपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
सडक विभागले जारी गरेको प्रारम्भिक प्रतिवेदन अनुसार बाढीले नदी तटीय करिडोरमा रहेका कम्तीमा ४० किलोमिटर सडक र १९ वटा पुलहरूमा गम्भीर क्षति पुर्याएको छ। विशेष गरी राष्ट्रिय महत्वको व्यापारिक मार्ग मानिने गल्छी-मैलुङ-रसुवागढी सडक खण्डका दर्जनौँ स्थानमा नदीले कटान गर्नुका साथै कयौँ किलोमिटर सडकको निसाना नै मेटिने गरी बगाएको छ।
यसैगरी, भोटेकोशी र त्यसपछि मिसिने त्रिशूली नदी माथि निर्माण गरिएका दर्जनभन्दा बढी मोटरेबल तथा झोलुङ्गे पुलहरू बाढीको तीव्र बहावले बगाएको छ भने अन्य कैयौँ पुलहरूका पिलर र स्पानमा आंशिक क्षति पुगेको छ। बाढीको बहाव अझै उच्च रहेकाले क्षतिको अन्तिम र पूर्ण विवरण सङ्कलन गर्ने काम जारी रहेको सडक विभागले जनाएको छ।
मुख्य राजमार्ग तथा रणनीतिक सडकका सञ्जाल र पुलहरू ध्वस्त भएपछि सो क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ। सडक सम्पर्क विच्छेद हुँदा सर्वसाधारणको आवतजावतका साथै उद्धार र राहत सामग्री ढुवानीमा समेत ठूलो सास्ती भएको छ।
अवरुद्ध सडक मार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउन र ठाउँ-ठाउँमा खसेको पहिरो पन्छाउनका लागि सडक विभागले प्रभावित क्षेत्रमा ठूला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ। अत्याधिक जोखिमपूर्ण र संवेदनशील मानिएका स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक जनशक्ति, डोजर र एक्जाभेटरहरू तैनाथ गरी मर्मत सम्भार तथा वैकल्पिक बाटो खुलाउने काम द्रुत गतिमा सुरु गरिएको छ।






