काठमाडौँ । नेपालको मौलिक संवत् ‘नेपाल संवत् ११४७’ का अवसरमा आज देशैभरका नेवार समुदायले आफ्नै शरीर तथा आत्माको पूजा गर्दै हर्षोल्लासका साथ ‘म्हः पूजा’ मनाउँदैछन्। आफ्ना आत्मालाई चिनेर आत्मशुद्धिका साथ ज्ञानको ज्योति फैलाउने र अन्धकारको नाश गर्ने उद्देश्यसहित यो पर्व मनाउने प्राचीन परम्परा रहिआएको छ।
यमपञ्चकको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाको अवसर पारेर नेवार समुदायले बिहानैदेखि घर सफा गरी म्हः पूजाको विशेष तयारी गर्ने गरेका छन्। पूजाका लागि घरको मूली (नकी) महिलाको नेतृत्वमा रातो माटोले लिपेर चोखो बनाइएको स्थानमा पानी, तेल र भुइसिनको मण्डला बनाइन्छ। त्यसपछि चामलको पिठो, कालो भटमास, लावा र मासको गेडाले सजाएर मण्डप तयार गरी खेलुइता (बत्ती) बाल्ने गरिन्छ।
घरका सदस्यहरू लस्करै बसी मण्डलामा बिमिरो, सुन्तला, केरा, ओखर, स्याउ, अमलालगायतका फलफूलका साथै कोखा र फूलको माला सजाइन्छ। पूजा विधिअनुसार घुँडा, कुम र टाउकोमा मुटुमारी, फलफूल तथा विभिन्न धानका बालाहरू राखेर पूजा गरी दीर्घायु र आरोग्यको कामना गरिन्छ। पूजा सम्पन्न भएपछि खेलुइता ननिभेकै बेला नयाँ कुचोले मण्डप सफा गर्ने र भोलिपल्ट बिहान खोलामा सेलाउने चलन छ।
पूजाको अन्त्यमा घरको नकीबाट अण्डा, माछा, बारा र मदिरासहितको ‘खेःसगં’ (सगुन) ग्रहण गरी परिवारका सदस्यहरूसँगै विभिन्न पकवानसहित भोज खाने परम्परा रहेको छ।
ऐतिहासिक पृष्ठभूमि र नेपाल संवत् म्हः पूजाकै दिन राष्ट्रिय विभूति शङ्खधर साख्वाले गरिब जनताको ऋणमोचन गरी नयाँ संवत् चलाएको ऐतिहासिक जनविश्वास छ। भक्तपुरका राजा आनन्द मल्लको पालामा चङ्खुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएको कथा र व्यापारी शङ्खधर साख्वाले जनताको ऋण चुक्ता गरी नेपाल संवत् सुरुवात गरेको इतिहास यसै दिनसँग जोडिएको छ।
यस पर्वले मानव सभ्यता, धार्मिक, आध्यात्मिक पक्षका साथै जीवनमा पञ्चतत्वको महत्व र आत्मसन्तुष्टिको संदेश दिने सांस्कृतिकविद्हरू बताउँछन्। म्हः पूजाको दिन शरीर र आत्मशुद्धिका साथै घरमा प्रयोग हुने दैनिक उपभोग्य वस्तुहरू कुचो, नाङ्लो, चुलो आदिको समेत पूजा गरी नयाँ वर्षको स्वागत गरिन्छ।






